देवदह।देवदह नगरपालिका ६ सरनाबारीमा पाँचौ पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। कालिका युवा क्लबको आयोजनामा उक्त भलिबल प्रतियोगिता संचालन भएको हो।

भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि दुग्ध सहकारी संस्थाका संचालक सदस्य प्रकाश अर्यालले मानव जीवनमा खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ। पछिल्लो समय खेलकुद स्वास्थ्यको लागि मात्र नभएर व्यावसायिक ढंगले अघि बढेको बताउंदै अर्यालले खेलकुदको क्षेत्रमा पनि देशले विस्तारै गति लिएको बताउनुभयो।

भलिबललाई २०७४ साल जेठ ८ गते राष्ट्रिय खेलकुदको रुपमा अगाडी सरेको बताउदै अर्यालले खेल संगै राजनीतिमा पनि सुद्दिकरण हुनु आवश्यक रहेको बताउनुभयो। राजनीतिक अस्थिरताको कारण शिक्षा,स्वास्थ्य,रोजगारको पहुँच आम सर्वसाधारण माझ पुग्न नसकेको बताउंदै अर्यालले युवा पुस्ताले राजनीति स्थायित्वका लागि खबरदारी गर्नु आवश्यक रहेको बताउनुभयो।
उद्घाटन कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य यम राना,वडा नम्बर ६ का वार्ड सदस्य खेमराज थापा,धनराज सुनार,कार्यपालिका सदस्य बन्धु कुमाल,देवदह प्रहरी चौकीका इन्चार्ज गङ्गा बहादुर सारु,सहिद दुर्गा बलु स्मृति कभर्ड हालका अध्यक्ष मेख बहादुर गुरुङ,पुर्व शिक्षक युवा समाजसेवी सरोज थापा लगायतको सहभागिता रहेको थियो।
उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष सम्मर जर्घा मगरको अध्यक्षता,लोकेन्द्र जर्घा मगरको स्वागत र धन बहादुर रानाको संचालनमा सम्पन्न भएको थियो
उद्घाटन खेलमा शितलनगर विजयी
कालिका युवा क्लब सरनबारीद्वारा आयोजित पाँचौ पुरुष भलिबल खेलको उद्घाटन खेलमा शितलनगर युथ क्लब विजयी भएको छ। जगात भलिबल क्लबलाई २५ -११ र २५ -९ को सोझो सेटमा पराजित गर्दै शितलनगर युथ क्लब विजयी भएको हो।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३० हजार शिल्ड, मेडल र प्रमाण पत्र,द्वितीय हुने टिमले नगद २० हजार ,तृतीय हुने टिमले १० हजार शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन।
प्रतियोगितामा पाल्पा,नवलपरासी र रुपन्देहीका गरि २२ टिमको सहभागिता रहेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij