लुम्बिनी पाना, देवदह । रूपन्देहीको देवदहमा आयोजित बी-लेभल पुरुष भलिबल प्रतियोगिताको उपाधि मुर्गिया स्पोर्ट्स क्लब, सैनामैनाले जितेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित मुढावास युवा क्लबको आयोजनामा चैत्र ४ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा मुर्गिया स्पोर्ट्स क्लबले न्यू होराइजन स्पोर्ट्स क्लब, बुटवललाई ३०–२८, २७–२५ र २५–२१ को सोझो सेटमा ३–० ले पराजित गर्दै उपाधि चुमेको हो।
उक्त खेलमा मुर्गिया स्पोर्ट्स क्लबका आयुष थापा मगर ‘बेस्ट लिब्रो’ तथा हिमाल थापा मगर ‘बेस्ट प्लेयर’ घोषित भए भने न्यू होराइजनका सौरभ गुरुङ ‘बेस्ट सेटर’ घोषित भएका थिए। खेलका अफिसियल प्रताव खवासका अनुसार खेल प्रतिस्पर्धात्मक र रोचक बनेको थियो।
यसअघि तेस्रो स्थानका लागि भएको खेलमा गौतम ब्रदर्सले आयोजक मुढावास युवा क्लबलाई ३–२ को सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको मुढावास युवा क्लबका अध्यक्ष पुरन सिंह सलामीले जानकारी दिए।
देवदह नगरपालिका वडा नं. १० तथा त्रिशुली सामुदायिक वनको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा विभिन्न टोलीहरूको सहभागिता रहेको थियो। कार्यक्रम सुमन तरामीको अध्यक्षता तथा होमबहादुर सलामीको सञ्चालनमा सम्पन्न भएको थियो।
कार्यक्रममा कार्यपालिका सदस्य कुमार परियार, वडा नं. १० का वडा सदस्य अमर लामिछाने र भविलाल थापा, जनकल्याण आधारभूत विद्यालयका अध्यक्ष भक्तबहादुर सलामी, मुढावास टोल विकास संस्थाका अध्यक्ष रूद्रबहादुर सलामी, लाली गुराँस आमा समूहकी अध्यक्ष मनु सलामी, हिमाल मल्ल लगायतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij