पौष २६ बुटवल।खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उपमहानगरपालिकाका सबै वडाहरुमा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको छ । संस्थानले पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा रहेको झुम्सा खोलामा बाँध तथा इन्टेक निर्माण गरी उक्त खोलाको पानीलाई प्रशोधन(ट्रिटमेन्ट) गरेर बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा खानेपानी सेवा विस्तार गर्न लागिएको हो
संस्थानले पूरै बुटवल शहरका लागि खानेपानी पुराउने उद्देश्यले आयोजनाको ठेक्का आव्हान गरेको छ । पहिलो प्याकेजअन्तर्गत १० र २० इन्चको डिआई पाइप खरिद कार्य भइसकेको छ । दोस्रो प्याकेजअन्तर्गत खोलाको बाँध निर्माण र पाइप जडानको ठेक्का सम्झौता कार्य हुँदैछ । तेस्रो प्याकेजमा पाइप जडान गरी बिछ्याउने र ट्रस पुल बनाउने कार्यको ठेक्का आव्हान भएको छ । झुम्सा खोलाबाट प्रतिदिन ३ करोड १० लाख लिटर पानी ल्याएर बुटवलमा प्रशोधन गर्ने र त्यहीँबाटै वितरण गर्ने योजना रहेको संस्थानको बुटवल खानेपानी आयोजना प्रमुख बुद्धरत्न महर्जनले बताउनुभयो । बुटवल खानेपानी शुद्धीकरण आयोजनाको नामबाट दुईवटा मुख्य कामहरु अघि बढाइएको छ । पहिलो काम अन्तर्गत झुम्सा खोलामा बाँध निर्माण गर्ने, ट्रस पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याउने । त्यस्तै दोस्रो आयोजनाको काम अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ३ स्थित रामफेदीमा पानी प्रशोधन प्लान्ट बनाउने, रिजर्भवायर पानी ट्याङ्की बनाउने र पानी वितरणका कामहरु गर्ने रहेको छ । बुटवल शहरमा करिब ६ सय १२ किलोमिटर डिआई पाइप तथा एचडिपीईं पाइप विस्तार गर्ने र ९ वटा ओभरहेड ट्याङ्की निर्माण गर्ने योजना रहेको आयोजना प्रमुख महर्जनले जानकारी दिनुभयो । अबको चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेर आयोजनाको काम अघि बढाइएको छ । यो आयोजनाको कूल लागत ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ रहेको आयोजना प्रमुख महर्जनले बताउनुभयो । बुटवल उपमहानगरपालिकाका सबै वडाहरुमा २४ सै घण्टा खानेपानी उपलब्ध गराउने उद्देश्यले यो आयोजनाको डिजाइन तयार गरिएको छ । करिब ३ लाख जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संस्थानले जनाएको छ । संस्थानको बुटवल खानेपानी शुद्धीकरण आयोजना पहिलो ठूलो आयोजना हो भने दोस्रोमा पोखराको मर्दी खोला खानेपानी आयोजना रहेको छ । पोखरामा मर्दी खोला आयोजनाको निर्माण कार्य धमाधम चलिरहेको छ । यसअघि मर्दी खोला आयोजनाको शिलान्यास खानेपानी मन्त्री बिना मगरले गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र शतप्रतिशत जनसंख्यालाई आधारभूतस्तरको खानेपानी सेवा पुराउने लक्ष्य छ । सोही लक्ष्य हासिल गर्न खानेपानी मन्त्रालयले देशैभरि साना ठूला गरी खानेपानीका आयोजनाहरुलाई अघि बढाउँदैछ ।
के हो झुम्सा खानेपानी आयोजना ?
वि.सं. २०५३ सालमा ४ करोड रुपैयाँ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ त्यत्तिकै बिलाएर गएपछि झुम्सा खोला खानेपानी आयोजना अगाडि सारिएको थियो । बुटवलवासीहरुलाई दैनिक ८० लाखदेखि १ करोड लिटर खानेपानी उपलब्ध गराउने योजनाअनुसार आयोजना अघि सारिएको थियो ।
बुटवलको खानेपानी समस्या समाधान गर्न भन्दै २२ वर्षअघि झुम्सा खानेपानी आयोजना सुरु गरिएको थियो । पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गतको झुम्सा खोला बुटवलबाट करिब १४ किलोमिटर टाढा पर्छ । २२ वर्षअघि तत्कालीन मेयर सूर्यप्रसाद प्रधानको पालामा यसबारे छलफल सुरु भएको थियो । तर दुई दशक बित्यो यसअघि कसैले सुरु गरेनन् झुम्सा खानेपानी आयोजनाको काम । अहिले खानेपानी मन्त्री बिना मगरले यो आयोजनाको कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ । दुई वर्षअघि झुम्सा खोलाको फिरफिरे घाटमा इन्टेक निर्माणको काम सकिएर केही किलो मिटर पाइप लाइन बिछ्याइसकेपछि बाढीले इन्टेक नै बगाइदिएको थियो । इन्टेक बगाएपछि आयोजनाको काम रोकिएको थियो ।
सुरुमा १९ करोड ५६ लाख रुपैयाँ लागत अनुमान गरी २०६८ सालको असारभित्र सक्ने लक्ष्य लिइएको थियो । बुटवलको मेलम्चीको रुपमा व्याख्या गरिएको झुम्सा खानेपानी आयोजना बुटवल शहरबासीका लागि गौरवको कुरा हो । हाल बुटवलमा दैनिक ३ करोड ५० लाख लिटर पानीको माग रहेको छ । जुन माग यो आयोजनाले पूरा गर्नेछ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij