खेलकुद
काठमाडौं।अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी–२० विश्वकपअन्तर्गत आजको तेस्रो खेलमा भारतविरुद्ध दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको छ। पर्थमा भारतले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
उसका लागि डेविड मिलर र एडेन मारक्रमले अर्धशतकीय पारी खेले। मिलरले ४६ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ५९ रन बनाउँदा मारक्रमले ४१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५१ रनको योगदान दिए। टेम्बा बाभुमा १०, ट्रिस्टन स्टब्स ६, क्विन्टन डीकक १ र रिली रोसोउ शून्य रनमा आउट हुँदा वेन पार्नेल २ रनमा अविजित रहे।
भारतका लागि अर्शदीप सिंहले २, मोहम्मद शामी, हार्दिक पाण्ड्या र रविचन्द्रन आश्विनले १–१ विकेट लिए। त्यसअघि पर्थमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो। निकै खराब सुरुवात गरेको भारतका लागि सूर्यकुमार यादवले उत्कृष्ट पारी खेले।
उनले ४० बलमा ६ चौका र ३ छक्काको मद्दतमा ६८ रनको योगदान दिए। जारी विश्वकपमा उनको यो लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले नेदरल्याण्डविरुद्ध नटआउट ५१ रनको शानदार इनिङ्स खेलेका थिए। समग्रमा उनको टी–२० आई करियरको ११औँ अर्धशतक पनि हो।
आज भारतका लागि कप्तान रोहित शर्माले १५ र विराट कोहलीले १२ रन बनाए। केएल राहुल ९, रविचन्द्रन आश्विन ७, दिनेश कार्तिक ६, हार्दिक पाण्डे २, मोहम्मद शमी र दीपक हुड्डा शून्य रनमा आउट भए। भुवनेश्वर कुमार ४ र अर्शदीप सिंह २ रनमा अविजित रहे।
दक्षिण अफ्रिकाका लागि लुंगी एन्गिडीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २९ रन दिएर महत्वपूर्ण ४ विकेट लिए। उनले रोहित, राहुल, विराट र हार्दिकको विकेट लिएका हुन्। यस्तै, वेन पार्नेलले ३ र एनरिक नोर्कियाले १ विकेट लिए।
दक्षिण अफ्रिका दोस्रो जित हो। पहिलो खेलमा वर्षाका कारण जिम्बाब्वेसँग अंक बाँडेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा बंगलादेशलाई १ सय ६ रनले हराएको थियो। भारतलाई हराएसँगै दक्षिण अफ्रिकाले अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। र, उसले सेमिफाइनल यात्रा बलियो बनाएको छ।
भारतको यो पहिलो हार हो। भारतले पहिलो खेलमा पाकिस्तानलाई ४ विकेट र दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ५४ रनले हराएको थियो। दक्षिण अफ्रिकासँग हारेपनि भारतको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ। भारत अंक तालिकाको दोस्रो स्थानमा झरेको छ। बंगलादेश तेस्रो जिम्बाब्वे चौथो, पाकिस्तान पाँचौं र नेदरल्याण्ड्स छैटौं स्थानमा छन्।
अंक तालिका :

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij