गौतम बुद्ध अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता सुरु
देवदह । देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले खेललाई व्यवसायीक बनाउन सकेमात्र आर्थिक बिकास गर्न सकिने बताउनु भएको छ । बुधबार देवदहमा सुरु भएको अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगितालाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले उक्त कुरा बताउनुभएको हो । खेलकुद मानव जिवनको महत्त्वपूर्ण अङ्ग रहेको र यदि खेलकुदको क्षेत्र नहुने हो भने विकास पनि अधुरो रहने उंहाले बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख खरेलले गौतम बुद्ध अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगितालाई सम्बोधन गर्दै कराते खेल आत्मरक्षाका निम्ति पनि महत्त्वपूर्ण रहेको र यसले मानिसको शारीरिक रुपमा पनि अत्यन्तै प्रभावकारी भुमिका निर्वाह गर्ने बताउनुभयो।
कार्यक्रममै बोल्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले जुन उद्देश्य साथ प्रतियोगिता आयोजना गरिएको हो त्यस्तो पुर्ण सफलताको शुभकामना दिदै देवदह नगरपालिकाले खेलकुदको विकासको लागि खेलकुद कार्यविधि बनाएर अगाडि बढिरहेको बताउनुभयो।
सोही अवसरमा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिसद सदस्य सचिब जय प्रकाश भट्टराई, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुब आचार्य, नेपाल कराते महासंघका महासचिव हरि शरण केसी लगाएतले बोल्दै खेलकुद विकास नहुनुमा राजनीतिक खिचातानीले गर्दा भएको औलाएका थिए। नेपालको सिङ्गो खेलकुद क्षेत्र धरापमा परेको बताए।
प्रतियोगितामा नेपालबाट २३०, भारतबाट ८०, बाङ्लादेशबाट २०, श्रीलंकाबाट १५ र भुटानबाट १५ जना खेलाडीहरु प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष शोभाखर पन्थले जानकारी दिनु भयो।
खेल संयोजक दिपक चापागाईको अध्यक्षतामा भएको कार्यक्रम कराते प्रशिक्षक माधवप्रसाद घिमिरेको स्वागत र दिपेश मल्लको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij