चैत्र ११, स्पेन। कोरोना भाइरसको कारण स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५१४ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
मंगलबार स्थानीय समय मध्यान्न १२ बजेसम्म ३९६७३ जनामा संक्रमण भेटिएको छ। कोभिड–१९ का कारण हालसम्म २६९६ जनाले ज्यान गुमाएका छन् भने ३७९४ जना उपचारपछि निको भई घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्पेनमा सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो । कोरोनाका कारण म्याड्रिडमा मात्र १५३५ जनाले ज्यान गुमाइकेका छन् । त्यो जम्मा मृत्यु हुने संख्याको ५७ प्रतिशत हो । म्याड्रिडमा १२ हजार ३ सय ५२ जनालाई कोरोनाको संक्रमण देखिएको छ । नेपाली राजदूताबास समेत रहेको म्याड्रिडमा झण्डै ६ सयको संख्यामा नेपालीहरु रहेको अनुमान छ ।
राजधानी म्याड्रिडपछि बढी प्रभावित क्षेत्र कातालोनिया हो । ३ देखि ४ हजारसम्म नेपालीहरु बसोबास गर्ने ठानिएको सो क्षेत्रमा पनि कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दो देखिन्छ । पर्यटकीय शहर बार्सिलोना समेत रहेको कातोलोनिया क्षेत्रमा ७ हजार ८ सय ६४ जना संक्रमित भेटिएका छन् । कोभिड–१९ को कारण यहाँ हालसम्म २ सय ८२ जनाको मृत्यु भएको छ ।
नेपालीहरुको बसोबास रहेको पाइसभास्को तेस्रो बढी प्रभावित क्षेत्र हो । सो क्षेत्रमा २७२८ जना संक्रमित भेटिएका छन् भने १३३ जनाको मृत्यु भएको छ । नेपाली राजदूताबास म्याड्रिडका अनुसार हालसम्म कुनै पनि नेपालीलाई कोभिड-१९ को संक्रमण भेटिएको छैन । स्पेनमा झण्डै १० हजार नेपालीहरु रहेको नेपाली समाजका अगुवाहरुले बताउदै आएका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij