चैत २५ देवदह। कोरोना भाइरसका कारण रुपन्देहीको देवदहकी एक महिलाको ज्यान गएको छ । यूएईमा रहेकी देवदह–५ प्रगतीवजारकी विनु पराजुलीको शुक्रबार ज्यान गएको सोमबार प्राप्त रिर्पोटले पुष्टि गरेको हो । ४० वर्षीया पराजुली उनी कार्यरत घरमै गत शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी थिइन । मृतक विनुलाई तुरुन्त अस्पताल लगिएको तर अस्पतालले शुक्रबार नै मृत घोषणा गरेको थियो । मृत्यु हुनु भन्दा केही दिन अघि उनी अस्पतालमा जाँचका लागि पुगे पनि केही औषधि लिएर काम गर्ने घरमै आरामरत थिइन ।
दुबई स्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट सोमबार श्रीमान डोलराज पराजुलीलाई उपलब्ध गराएको थियो । उनी ९ वर्ष देखि दुबईमा कार्यरत थिइन । पछिल्लो समयमा उनी काम चेन्ज गर्ने भन्दै भिजिट भिषामा बरदुबई स्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन । उनको श्रीमान डोलराज एक महिना देखि भिजिट भिसामा युएईमा नै थिए । मृतक पराजुलीको एक छोरी छन । उनि हजुरबुवा हजुरआमा संग बस्दै आएकी छन ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij