बैशख १५ ,चितवन । भरतपुर महानगरपालिका १० मा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालको चैत महिनाको खर्च सवा करोड भएको छ । भरतपुर कोरोना नियन्त्रण कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै खर्च विवरण सार्वजनिक गरेका हुन् ।
डा.अधिकारीबाट प्रस्तुत खर्च विवरण कार्यदलको आज सम्पन्न समीक्षात्मक बैठकले अनुमोदन गरेको छ । डा.अधिकारीबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ रोगको उपचार तथा नियन्त्रणको क्रममा सहयोग पुर्याउनु हुने कोरोना कार्यदलका सदस्यहरु, विभिन्न उपसमितिमा रही काम गर्नुभएका साथीहरु, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, संचारकर्मीहरु, सुरक्षा निकाय, सम्पूर्ण निजी एवं सरकारी स्वास्थ्य संस्था, विभिन्न किसिमका स्वास्थ्य सामग्री प्रदान गर्नुहुने दाताका साथै बन्दाबन्दीको पूर्ण पालना गरी कोरोनासँग लड्न हौसला प्रदान गर्नुहुने आदरणीय नगरवासीहरुलाई पुनः धन्यवाद दिँदै आउँदा दिनहरुमा पनि यहाँहरुको रचनात्मक साथ र सहयोगको अपेक्षा गर्दछु ।’ भरतपुर महानगरपालिकाले यस भाइरसको सामना गर्नका लागि शुरुवातदेखि नै प्रभावकारी कदमहरु चालेको छ । कार्यदल संयोजक रेनु दाहालले सबैलाइ धन्यवाद ज्ञापन गर्दै महानगरको अगुवाइमा भएको कोरोनाविरुद्धको लडाइँ अझै जारी रहेको बताइन् ।
विश्वव्यापी महामारीका रुपमा मानव सभ्यतालाई नै चुनौती दिएको कोरोना भाइरसका कारण विश्वमा करिब ३० लाख मानिस संक्रमित भएका छन् भने २ लाख ७ हजार मानिसको मृत्यु भइसकेको छ । नेपालमा ५२ जनामा संक्रमण देखिएको छ भने १६ जना निको भइ घर फर्केका छन् । छिमेकी देश भारतमा यसको संक्रमण बढ्दै जाँदा नेपाललाई चुनौती थपिएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij