असार १५,सर्लाही ।सर्लाहीको धनकौल गाँउपालिकामा नेकपा र काँग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा १८ जना भन्दा बढी घाईते भएका छन् । गाउँपालिका–३, मा हिजो साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोलीको छर्रा लागेर र हानाहानमा परी १८ जना भन्दा बढी घाईते भएका हुन् ।
असार ७ गते हत्या गरिएका रामजल रायको हत्यारालाई कारबाही गर्नुपर्ने र क्षतिपुर्तीको माग गर्दै नेकपा कार्यकर्ता मसाल जुलुश निकाल्ने क्रममा झडप भएको थियो ।धनकौल बजारमा जुलुश निकालेका समयमा कांग्रेसका कार्यकर्ताले हतियारसहित आफुमाथि आक्रमण गरिएको घाइतेहरुले बताएका छन्। कांग्रेसका कार्यकता आफुमाथि नेकपाको कार्यकर्ताले आएर अचानक आक्रमण गरेको आरोप लगाएका छन्।
घाइते हुनेमा धनकौल २ रणधीर रंजन बर्मा, बैधनाथ सहनी र लक्ष्मण साह वडा सदस्य समेत रहेका छन्।
त्यसैगरी छर्रा लागेर घाइते हुनेहरुमा धनकौल ३ हरकठवाका रामचन्द्र हजारी नागेश्वर सहनी, महबुब अन्सारी, राकेश कुमार सिंह, रामविनय हजारी, बिलास राय, विजय साह, अरविन्द सिंह, सुनिल महतो, विजय साह, शेख इन्ताज, सुनिल साह, नितेश सिंह, संजित यादव र अरुण यादव रहेका छन्।
कांग्रेसका रणधीर रंजन बर्माले आफू बजारबाट तरकारी लिएर घर अगाडि बसिरहेको अवस्थामा अचनाक ४०-५० जनाको समूहमा आएका नेकपा कार्यकर्ताले कुटपिट गरेको बताएका छन्।
नेकपाका विजय सिंहले आफूहरु मसाल जुलुश निकालेको समयमा ढुङ्गा मुढा गर्दै कांग्रेसका कार्यकर्ताले गोली चलाएको आरोप लगाएका छन्। उनले मशाल जुलशमाथि ढुंगामुडा सहित अचानक गोली बर्षाउन थाले पछि हामी नभागेको भए धेरै हताहती हुने थियो भनेका छन् ।
दुई पक्षबीच झडप हुदाँ करिब १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए।
झडप नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । गोली कसले चलाएको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij